`

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्की र माओवादीका आङवोको दावी

Nepal One HD २५ असोज २०८० १८:०२
प्रमुख खबर

काठमाडौ– कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले दावी पेश गरेका छन् ।
नेपाली कांग्रेसका सांसद केदार कार्की पनि एमालेको साथ लिएर मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन् । आङवोले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उता, कार्कीले कांग्रेसका ८ र एमालेका ३९ सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमा लागेका हुन् । आङवोलाई भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले साथ दिएको छ ।


आज वालुवाटारमा बसेको गठबन्धन बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादीका आङबोलाई अघि सार्ने निर्णय गरेको थियो ।
उक्त निर्णयमा कांग्रेसका शेखर कोइराला खेमाले असन्तुष्टी जनाएको थियो । एमालेको साथ लिएर कोशीको मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमा रहेका कार्की कोइराला निकटका हुन् । कोशीका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए ।


प्रतिक्रिया