`

बाइडेन–सि भेटघाटको बाटो ‘सहज’ छैन– चिनियाँ विदेशमन्त्री वाङ

Nepal One HD १२ कार्तिक २०८० १८:१५
विश्व

बेइजिङ-वासिङ्टनको दुर्लभ भ्रमण पूरा गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भन्नुभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्नुभयो । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत हुनुभएको थियो ।दुवै शक्तिबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गर्नुभएको छ । अमेरिका जाने बारेमा राष्ट्रपति सिले अहिलेसम्म पुष्टि गर्नुभएको छैन ।सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भन्नुभयो, “दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।”सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भन्नुभयो, “सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’ का भरमा छोड्न सकिँदैन ।” सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सिबीच कुनै सम्पर्क भएको छैन ।दुवै मुलुक एसिया–प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभूत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौँदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।सिन्ह्वाका अनुसार वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताउनुभएको थियो ।–––


प्रतिक्रिया