`

विभिन्न निर्णय गर्दै जसपाको बैठक सम्पन्न

Nepal One HD १३ कार्तिक २०८० २१:२६
राजनीति

काठमाडौँ, १३ कात्तिक ः जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले मधेस प्रदेशसभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साथै ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहनुभएको छ ।

यसैगरी उक्त बैठकले गङ्गाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “चुरे उत्खनन् गरी निकासी पैठारीसम्बन्धी सरकारकाे निर्णयको पार्टीले बिरोध गर्ने तथा केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।”


प्रतिक्रिया