डब्लूएचओ प्रमुख गेब्रेयेससद्वारा शान्तिका लागि एकजुट हुन आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इथियोपियामा आफ्नो युद्धकालको पीडा स्मरण गर्दै विश्वका नेताहरूलाई शान्तिका लागि एकजुट हुन आग्रह गर्नुभएको छ ।
विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा गाजा पट्टीमा खाद्यान्न, स्वास्थ्य सामग्री र अन्य सहायताको सुरक्षित वितरणका लागि तत्काल ‘मानवीय सहायताका लागि युद्धविराम’ गर्न आह्वान गर्नुभएको छ ।टेड्रोसले प्रसिद्ध सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भन्नुभएको छ, “युद्धविराम र शान्तिका लागि विनम्र अनुरोध गरिरहेको छु ।”
“युद्धको छायाँमा फसेको बच्चाको रूपमा, मलाई यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी थाहा थियो । अहिले द्वन्द्वको बीचमा फसेकाहरूप्रति म गहिरो सहानुभूति राख्छु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्छु,” उहाँले भन्नुभयो, “युद्धले विनाश, भयावहता र त्रासदी मात्र ल्याउँछ । अरु केही होइन ।”
“यस नाजुक घडीमा, हामी विभाजनबाट माथि उठेर शान्तिको मार्ग अँगालौं । साहसको साँचो प्रदर्शन शान्ति रोज्नुमा निहित छ । म विश्वका नेताहरूलाई एकताबद्ध हुन र विश्वलाई शान्तितर्फ डो¥्याउन आह्वान गर्दछु ।
इजरायली अधिकारीहरूका अनुसार गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले गाजामा आक्रमण गरेपछि इजरायलले गाजामा भारी बमबारी गरेको छ, जसमा एक हजार ४०० जनाको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् र अन्य २२० भन्दा बढीलाई अपहरण गरिएको छ ।
हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी आठ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।
टेड्रोसले ‘अन्यायपूर्ण र भयानक’ हमासको आक्रमणको निन्दा गर्दै गाजामा भएको बमबारीमा ‘बालबालिकाले मूल्य चुकाइरहेको’ बताएका छन् ।
गत वर्षको मे महिनामा डब्लुएचओको दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुँदा ५८ वर्षीय टेड्रोसले आफ्नो नम्र पालनपोषणलाई एक गरीब परिवारमा युद्धपिडित सन्तानका रूपमा जन्म भएको बताउनुभएको थियो ।
भावुक बन्दै बोल्दा उहाँले सानै उमेरमा द्वन्द्वको अनुभव गरेको र हालै युक्रेनको भ्रमणको क्रममा ती तीव्र भावनाहरू कसरी उच्च गतिमा आए भनेर वर्णन गर्नुभएको थियो ।
“जब मैले युक्रेनी बच्चाहरूलाई देखें, मेरो ५० वर्षभन्दा पहिलेको छवि दिमागमा आयो; यो यति दृष्यमान थियो कि यसबाट मैले मेरै विगतको युद्धको गन्ध, युद्धको आवाज, युद्धको छवि महशुस गरेँ,” उहाँले आँसु झार्दै भन्नुभयो, “म कसैलाई पनि यस्तो होस् भन्ने चाहन्नँ । त्यसैले मलाई आशा छ कि शान्ति आउनेछ ।”
