सरकारविरुद्ध बानेश्वरमा युवा संघको प्रदर्शन
काठमाडौ– सरकारको कामकारवाही जनमुखी नभएको आरोपमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जनता मूल्यबृद्धि, कालाबजारीबाट आक्रान्त हुदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।
सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धरासयी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि एउटा पनि राम्रो काम पनि गर्न नसकेको संगठनको आरोप छ । विरोध प्रदर्शनपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले सरकारले देश र जनताका लागि कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
जनजिविकाका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नदेखाएकाले सरकार विरुद्ध प्रदर्शन गर्नुपरेको उनको भनाइ छ । उनले सरकारमा रहेकाले व्यापारीसंग साठगाँठ गरेर उपभोग्य बस्तुमा कृत्रिम अभाव भएको र मूल्यबृद्धि भएको आरोप लगाए ।
