संस्कृतमा शपथ लिने राजस्थानका दुई मुस्लिम विधायकको भारतभर चर्चा
भारतको राजस्थान विधानसभामा मुस्लिम समुदायका दुई जना विधायकले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । संस्कृतमा शपथ लिएका विधायकहरूको अहिले भारतभरि चर्चा चलिरहेको छ ।
डिसेम्बर २० र २१ मा संस्कृतमा शपथ लिएका एक जना कांग्रेसका जुबैर खान हुन् भने अर्का स्वतन्त्र निर्वाचित भएका युनुस खान हुन्। युनुस बीजेपीविरुद्ध विद्रोह गरेर स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।
राजस्थान विधानसभाका २०० सीटमध्ये १९९ सीटमा चुनाव भएको थियो। जसमध्ये १९१ जना विधायकले २० डिसेम्बरमा विधानसभामा शपथ लिए। आठजना विधायकले २१ डिसेम्बरमा शपथ लिएका थिए । कांग्रेस विधायक जुबैर खान अलवरको रामगढ क्षेत्रबाट विजयी भएका हुन् ।
जुबैर खानकी पत्नी सफिया जुबैर खान यसअघि विधायक निर्वाचित भएकी थिइन्। यस पटक कांग्रेसले उनका पति जुबैर खानलाई टिकट दिएको थियो। उनी चौथो पटक विधायक निर्वाचित भएका हुन् ।
संस्कृतमा शपथ लिने स्वतन्त्र विधायक युनुस खान वसुन्धरा राजेको सरकारमा मन्त्री थिए । संस्कृतमा शपथ पछि चर्चामा रहेका युनुस खानले मुस्लिमहरूले पनि अहिलेको परिस्थितिमा राम्रो काम गरेको भन्दै यसको धेरै प्रशंसा गरे ।
संस्कृतको इतिहास वर्णन गर्दै खानले भने, ‘वेद, पुराण र रामायण संस्कृतमा लेखिएका छन्। संस्कृत हाम्रो भारतका सबै भाषाहरूको जननी हो र म भारतीय हुँ। संस्कृत हाम्रो देशको सबैभन्दा धनी र पुरानो भाषा हो, मैले संस्कृतमा शपथ लिएकोमा गर्व महसुस गरेको छु।’
