आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको उद्योगीको दाबी


काठमाडौँ । उद्योगीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको र प्राधिकरणसँग प्रमाण भए ल्याउन आग्रह गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नलिएको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफूहरूले विद्युत् प्राधिकरणले दिएको डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको दाबी गरे । उनले प्राधिकरणले प्रमाण दिए सबै उद्योगहरू पैसा तिर्न तयार रहेको बताए । उनले चार वर्ष अघिको बिल अहिले आएर पेस गरेर पैसा उठाउने काम बन्द गर्न आग्रह गरे ।
उनले प्राधिकरण आफैँले लोडसेडिङको समय विद्युत् आपूर्ति गर्न सक्दैनौँ भनेर सार्वजनिक सूचना जारी गरेको समयमा उद्योगहरूले विद्युत् प्रयोग गरेको प्रमाण खोज्न जायज नभएको जिकिर गरे । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सायीहरूलाई दोषी देखाउने गरी भावनात्मक रूपमा प्रस्तुत भएको बताए ।