कृषिमन्त्री भुसालद्वारा दुग्ध वितरण आयोजना बालाजुको छड्के अनुगमन
काठमाडौँ, १७ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको आज छड्के अनुगमन गर्नुभएको छ । आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उहाँले सो आयोजनाको छड्के अनुगमन गर्नुभएको हो ।
मन्त्री भुसालको नेतृत्वमा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा आयोजनाका दुई सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो ।सो अवसरमा मन्त्री भुसालले आयोजा प्रमुख गणेशकुमार यादवलाई आयोजना सञ्चालन देखिएका बेथितिलाई तत्काल सुधार्न निर्देशन दिनुभयो । अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आयोजनाका सुधारका लागि आवश्यक निर्णय गर्ने जानकारी गराउनुभयो ।मन्त्री भुसालले आयोजनामा देखिएका कमीकमजोरी न्यूनीकरण गर्न मन्त्रालयमा आवश्यक अध्ययनपश्चात् पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई कटौती गर्ने बताउँदै उहाँले भन्नुभयो, “दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक-पटक संस्थान सुधारका लागि मौखिक र लिखित निर्देशन दिइएको छ ।” केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ ।
