`

 गोलबजार नगरपालिकाले किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझायो

Nepal One HD १९ पुष २०८० १९:४१
अर्थ समाचार

सिरहा, १९ पुस : गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब रु आठ लाख महसुल विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

आज एक समारोहकाबीच नगर प्रमुख श्यामकुमार श्रेष्ठले विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजारको चेक हस्तान्तरण गर्नुभयो । भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।वडा नं १ लहान वितरण केन्द्रले हेर्ने भएकाले त्यसका लागि रु ५० हजार निकासा भएको कृषि शाखाका वीरेन्द्र यादवले जानकारी दिनुभयो ।पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले कार्यविधि पास गरिसकेको भए पनि लेखाका कर्मचारी नहुँदा धेरै काम नियमित रुपमा हुन सकिरहेको थिएन । कर्मचारीको अभावका कारण ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले पालिकाको सानो प्रयासबाट किसानले प्रत्यक्ष लाभ पाएका बताउनुभयो । “यसवर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गरेका थिए । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानका लागि घाउमा मलहमपट्टी लगाएजस्तो भएको छ”, उहाँले भन्नुभयो ।प्रमुख शर्माका अनुसार नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर जडान गरिएका छन् । नगर प्रमुख श्रेष्ठले आगामी दिनमा बाँकी किसानलाई पनि यस योजनामा समेट्ने योजना रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया