पार्टीलाई नयाँ उचाइमा पुर्याउन राजनीतिक दृष्टिकोणलाई गाउँ-टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन
काठमाडौँ, २८ पुस : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई नयाँ उचाइमा पुर्याउनका लागि राजनीतिक दृष्टिकोण गाउँ र टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीको शङ्खरापुर नगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्दै उनीहरूको सेवालाई केन्द्रमा राखेर अघि बढ्न सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । सिङ्गो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको बताउँदै उहाँले नेता–कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी सङ्गठन विस्तारमा जोड दिन निर्देशन दिनुभयो । विगतमा गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेकाले अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्ने उहाँको भनाइ थियो ।सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीप¬ङ्क्तिलाई निर्देशन दिँदै उहाँले वर्तमान गठबन्धन पाँच वर्षसम्म कायम रहनेमा आशङ्का नगर्न आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनतालाई रोजगारी उपलव्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गरी देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार गर्नेहरू जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो ।सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन निर्देशनएकीकृत समाजवादीले यही माघ ११ हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीपङ्क्तिलाई परिचालन गर्ने भएको छ । पार्टीले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउन मातहतका प्रदेश, जिल्ला, क्षेत्र, वडा तथा पार्टी निकट जनवर्गीय सङ्गठनलाई क्रियाशील गराउन निर्देशन दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।सम्बन्धित भूगोलमा सम्बन्धित उम्मेदवारको पक्षमा मतदानका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पार्टी आबद्ध नेतालाई जिम्मेवारीसमेत दिइएको छ । पार्टीले गठबन्धनबाट प्राप्त गरेको दुई सिटमा कर्णाली प्रदेशबाट सावित्री मल्ल र बागमती प्रदेशबाट घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ ।यसैबीच पार्टीको आसन्न विधान सम्मेलनका लागि पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाएको छ । विधान संशोधनबारे पार्टीको मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिम रूप दिइने जनाइएको छ ।
