मधेस आन्दोलन र सङ्घीयता, आन्दोलनपछि पार्टी खुल्ने फुट्ने खेल


काठमाडौँ – मधेसमा मधेसीहरुका लागि मधेसी मूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो । अपवादका रुपमा केही पहाडी मूलका मानिसहरु पनि विभिन्न कारणले मधेस आन्दोलनको पक्षमा देखिएका थिए र छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा आममधेसीहरुले २०६३ माघमा गरेको आन्दोलनलाई पहिलो मधेस आन्दोलन भनेर चिनिन्छ । २०६३ माघ २ गतेबाट औपचारिक रुपमा सुरु भएको मधेस आन्दोलनमा माघ ५ गते लहानमा चलेको गोली लागि स्कूले विद्यार्थी रमेश महतोको मृत्यु भएपछि आन्दोलन चर्किएको थियो ।
रमेश महतोको हत्या हुँदा उनी वा उनको परिवार मधेस केन्द्रित दलमा आवद्ध थिएनन् । तर मधेसको हकहितको लागि भएको आन्दोलनमा विद्यालय नजिकै भएको बादविवाद हेर्न गएका महतोको गोली लागी घटनास्थलमै मृत्यु भएको थियो । महतोको मृत्युपछि आक्रोशित स्थानीयवासीले यातायातका साधनहरु, सरकारी कार्यालयहरु जलाउने काम गरेका थिए । तत्काल सुरक्षा निकायले आन्दोलनमा हस्तक्षेप नगरेको कारण अराजक स्थिति सिर्जना भएको थियो । उक्त आन्दोलनमा केही स्वार्थी तत्वहरु वा भारतबाट नेपाल आई बसेका नवनागरिकहरुले पहाडी मधेसीको नारा लगाएर सर्वसाधारण पहाडी समुदायप्रति लक्षित गरी हत्या, हिंसा, अपहरण, चन्दा असुलीजस्ता क्रियाकलापहरु समेत गरेका थिए ।
मधेस आन्दोलनको सकारात्मक र नकारात्मक दुबै पाटो थियो । आन्दोलन नेताको हातमा थिएन । नेतृत्वविहीन आन्दोलन थियो । बरु आन्दोलनले नयाँ नयाँ नेताहरु बनाउने काम गरेको थियो । माघ ५ गतेदेखि साँच्चीकै मधेस आन्दोलनले एउटा रुप लिए पनि लामो समयसम्म आन्दोलन चल्यो । पहिलो मधेस आन्दोलन मधेसी जनअधिकार फोरम नेपालको नाममा सञ्चालित थियो तर यसमा मधेसका राप्रपा, सद्भावना पार्टी र अन्य राजनीतिक पार्टीका मधेसीमूलका नेताहरु पनि सहभागी भएका थिए । बौद्धिक समाज, नागरिक समाज, सङ्घसंस्था, कर्मचारी, शिक्षक प्राध्यापक, किसान, मजदूर, विद्यार्थी, महिला, बालबालिका, मधेसी दलित, जनजाति सबैको सहभागिता रहेको थियो ।
मधेस आन्दोलनको ऐतिहासिक पक्ष – यसअघि पनि मधेसमा मधेसीहरुको नाममा धेरैले आन्दोलन नगरेका होइनन् । संस्थागत रुपमा तराई कांग्रेसले २०१० सालबाट नै मधेसीको हक अधिकारको लागि आन्दोलनहरु गरेको थियो । तर तराईका नागरिकहरुले २०१५ सालको संसदीय निर्वाचनमा नराम्ररी हार्न बाध्य बनायो । तराई कांग्रेसको मियो नै पञ्चायतमा प्रवेश गरी मन्त्री भएपछि यसको सङ्गठन इतिहासमा मात्र कायम भयो । पछि परतन्त्र मधेसका लेखक रघुनाथ ठाकुरले प्राज्ञिक अनुसन्धान गरी मधेसीहरु माथि हुने विभेदको प्रचारप्रसार गरे । संगठन निर्माण गर्ने कोशिसहरु पनि गरेका थिए तर उनको सङ्गठन प्रभावकारी हुन सकेन ।
विसं २०४७ मा प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीको गठन सङ्घीयता र मधेस हकहितका कुराहरुलाई लिएर भएको थियो । यो पार्टीले आन्दोलनहरु गरिरहेको थियो । पार्टीमा नेतृत्वको टकरावले गर्दा फुट्ने र जुट्नेक्रम अहिले पनि जारी छ । यही सद्भावना पार्टी फुटेर राजेन्द्र महतो, सरिता गिरी, बद्रिनारायण मण्डल, विकास तिवारी, अनिल झालगायत धेरैले विभिन्न पार्टीको नाममा नेतृत्व गर्ने र अर्को पार्टीमा विलय हुने खेल खेल्न थाले कोही मन्त्री बन्नका लागि पार्टी फुटाउँथे भने कोही व्यक्तित्वको टकरावको कारणले । कसैले पनि जनहीतको लागि पार्टी फुटाएको बलियो आधार दिन सकेका छैनन् । मधेस आन्दोलनले नेपालमा सङ्घीयता ल्याउन खेलेको भूमिका महत्वपूर्ण छ । तर समयमै कानुनहरु नबन्दा सङ्घीयताको पूर्ण स्वाद चाख्ने अवसर मधेसले अझै पाएको छैन ।
मधेस आन्दोलनपछि पार्टी खुल्ने फुट्ने खेल – माघ ५ गतेको आन्दोलनपछि चर्चामा आउनुभएका उपेन्द्र यादव वा उहाँले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम पछि पार्टीको रुपमा परिणत भयो । मधेस आन्दोलन भएको १७ वर्ष पूरा भएको छ । यसबीच मधेसी जनअधिकार फोरम पटकपटक फुटेर अहिले जनता समाजवादी पार्टीको रुपमा स्थापित छ । यस पार्टीमा पहिलेको जस्तो पहाडी विरोधी सोच छैन । पहिचानवादी, खस ब्राम्हणहरु समेत यस पार्टीमा समावेश भएका छन् ।
यसबीचमा मधेस केन्द्रित पार्टीहरु यति धेरै खुले कि उनीहरुको सैद्धान्तिक अडानमा खासै फरक नभए पनि आफ्नो पकडका लागि पार्टी खोलेको देखिन्छ । तर छुट्टै स्वाद लिएर डा. सीके राउतले खोलेको जनमत पार्टीको आधार मधेसलाई नै बनाइएको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले तराईको थारु समुदायलाई केन्द्रविन्दुमा राखेर अन्य समुदायका मानिसहरुलाई पार्टीभित्र अवसर दिएको छ भने माओवादी हुँदै अहिले मधेसमा नयाँ पार्टी खोल्ने प्रभु साहले मधेसको नयाँ वर्गलाई आकर्षित गर्न खोजेको देखिन्छ ।
पहिलो संविधानसभाअघि मधेसमा पहिलो र दोस्रो आन्दोलन भए । त्यसपछि धेरै पटक संविधानमा आफ्नो माग सम्बोधन गराउन आन्दोलनहरु गरे । दोस्रो संविधानसभाले संविधान बनाउने बेलामा झन् ठूलो आन्दोलन भयो । सीमाक्षेत्रमा बसेर नाकाबन्दी गर्ने, राजमार्गमा बन्द आह्वान गर्ने काम भयो । लगातार छ महिनाको आन्दोलनले पनि कुनै उपलब्धि भएन । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर संविधान पारित गराउँदा मधेस केन्द्रित दलहरु संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका थिए । मधेस केन्द्रित दलहरुले पटकपटक संविधानमा संशोधन गर्नुपर्ने भन्दै विभिन्न मोर्चा बनाएर वा एक्लाएक्लै आन्दोलनहरु गरेका थिए ।
नेपाल जुन परिस्थितिबाट गुज्रिरहेको छ त्यसलाई विश्लेषण गर्ने हो भने समग्र नेपाललाई मधेस नभई हुँदैन । मधेसमा छिमेकी मुलुकका धेरै नागरिककोे घुसपैठ भएर नागरिकता लिएर बसोबास गरिरहेका छन् । नागरिकता वितरण गर्दा गैरनागरिकलाई पनि नागरिकता दिने क्रमले गर्दा जो वास्तविक मधेसी मूलका नेपालीहरु हुन् उनीहरुमाथि अन्याय भएको छ । ती नयाँ नागरिकता लिने अनागरिकहरुलाई पनि एउटै तराजुमा तौलिएर हेर्ने परम्परागत सोचका कारण वास्तविक मधेसीहरुमाथि विभेद् भएको छ । यसले उनीहरुमा असन्तुष्टी बढ्नु स्वभाविक हो ।
निष्कर्ष – त्यसैले मधेस आन्दोलन निरन्तर चलिरहन्छ । यसका स्वरुपहरु मात्र परिवर्तन भइरहन्छन् । मधेसमा पार्टी खुल्ने, टुटने र जुट्ने क्रम पनि द्रुत गतिमै चलिरहन्छ । मधेस नेपालको लागि एउटा समस्याको रुपमा रही रहन्छ । जबसम्म नेताहरुले मानवीय भावना, आत्मसम्मान, समावेशी, समानुपातिक, सहभागितामूलक सिद्धान्तलाई आत्मसाथ गर्दैनन् तबसम्म मधेस आन्दोलन चलिरहन्छ । मधेस आन्दोलन मात्र होइन, जातयि आन्दोलनहरु चलिरहन्छ । ती जातीय आन्दोलनहरुमा मधेस आन्दोलनको खेती अरुभन्दा बढी चर्चा परिचर्चामा रहने मात्र हो ।
अझ जातीय आन्दोलनका साथसाथै नेपालमा धार्मिक आन्दोलनले पनि खतरा बढ्दैछ । धर्मका नाममा हुने आन्दोलनको उर्वर भूमि पनि मधेस नै हुन सक्दछ । मधेसको सिको गरेर पहिचानबादीहरु जुर्मुराइरहेका छन् । यसले नेपालमा २०७२ को संविधानले दिएको अधिकारको विकेन्द्रीकरण गर्न नचाहने शक्तिको विरुद्धमा एकपटक फेरि जातीय सङ्गठनहरु तातिन सक्छन् । ध(लेखक त्रिवि इतिहास केन्द्रीय विभागका सहप्राध्यापक हुनुहुन्छ)