नेम्बाङलाई उपचारका लागि काठमाडौँ ल्याइयो
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका थिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको थियो ।
पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन् । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशन लगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ पुगेका छन् ।
