दुर्घटनामा परी पूर्वमन्त्री पौडेलको निधन
चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४६ प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।
नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आउनु भएको थियो । विसं २०३६ मा उनी विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बिपी कोइरालाको सन्देश लिएर नेपाल आउँथे । नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गरेका थिए । उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।
