शक्तिशालीको नाममा सहकारी ठगी र सरकारी जग्गा हडप्नेलाई उन्मुक्ति दिने काम नहोस्ः महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी तथा सरकारी जग्गा हडप्ने जो कोहीमाथि कारबाही गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री थापाले शक्तिशाली व्यक्तिको नाममा उन्मुक्ति दिन नहुने बताएका हुन् ।
उनले चाहे जग्गा मिच्ने वा हडप्ने होस् चाहे नागरिकता किर्ते गर्ने होस् चाहे सहकारीमा ठग्ने होस् कानुनको दायरामा आउनुपर्ने बताए । उनले भने,’जतिसुकै शक्तिशाली होस् जुनसुकै पदमा बसेको होस् तागतवाला होस्, नागरिकता बनाउन किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ त्यसकारणले किर्ते माफी हुन्छ, चल्छ ? जुनसुकै तागत भएको होस् आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ ठगीको मतियार हुन्छ भने कानुनी कारवाहीको दायरामा आउनु पर्दैन ?’
महामन्त्री थापाले सरकारले यी सबैलाई कारबाहीको दायरामा ल्याएर एउटा विश्वासको वातारण बनाउनुपर्ने बताए । उनले सुशासनका निम्ति सरकारले काम गरेँ भनेर मात्र नहुने भन्दै त्यो काम जनताले महसुस गराउने गरी हुनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको निर्देशनले मात्रै नचल्ने बताए। उनले भने,‘निर्देशनले समस्याको समाधान हुँदैन। प्रधानमन्त्रीले दिएपछि मन्त्रीले पनि निर्देशन नै दिन्छ, अनि सचिवले पनि निर्देशन नै दिन्छ अनि कार्यान्वयन गर्ने कसले?’
काम गर्ने तरिका परिर्वतन नभएसम्म कुनै उल्लेख्य परिणाम नआउने भन्दै त्यो सुरु स्वयं प्रधानमन्त्रीबाटै हुनुपर्ने बताए । महामन्त्री थापाले रुसमा अलपत्र परेका नेपालहरूको उद्दारमा सरकार असफल भएको बताए । उनले भने, ‘रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयसा अपुग भए। यसमा थप प्रयास होस् । त्यसका लागि राज्यले सम्पूर्ण तागत लगाउनुपर्छ।’
