पीडितलाई अन्याय हुनेगरि सङ्क्रमणकालीन न्यायको बिषय टुंग्याउनु हुँदैन–अध्यक्ष ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्गो लगाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा मानवअधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई अन्याय हुने गरि सङ्क्रमणकालीन न्यायको बिषय टुङ्गिन नसक्ने बताएका हुन् ।
उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको आरोप लगाए । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडित माथि अन्याय गरिएको उनको भनाइ छ ।
हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ओलीलै अहिले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा रहेको तर्क गरे ।
राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उलङ्घन गर्ने एमालेको निति नरहेको उनले प्रष्ट पारे । उनले एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए । सर्वोच्च अदालतको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ । कोइरालाले जनताका लागि नभइ नेताहरुका लागि मात्रै लोकतन्त्र आएको महशुस भएको धारणा राखे । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले दोषीलाई कारवाही तथा पीडितलाई न्याय प्रदान गर्ने र अन्तर्राष्ट्रिय समुदाय समेत विश्वस्त हुने गरी संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई टुङ्गोमा पुराउनुपर्ने बताए । यससम्बन्धी बिषयमा आयोगले दिएको सुझावहरुलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ छ ।
