`

 नेपालमा उत्पादित चिया तेस्रो मुलुकमा  निर्यात गर्नुपर्ने नेता खनालको जोड

Nepal One HD १० फागुन २०८० २०:२९
राजनीति

मङ्गलबारे (इलाम), १० फागुन : नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्नुपर्ने बताउनुभएको छ । इलाम नगरपालिका–१ को वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालमा उत्पादित चिया चीन निर्यात गर्नसके तीन गुणा बढी फाइदा हुने बताउनुभयो ।

चीनमा तीन गुणा बढी मूल्यमा चिया बिक्री भइरहेको भन्दै नेता खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नुपर्ने बताउनुभयो । हाल वार्षिक चार अर्बको चिया विदेश निर्यात भइरहेको भन्दै उहाँले चीनतर्फ निर्यात गर्दा १२ अर्ब भित्रिने जानकारी दिनुभयो ।इलाम–१ को वडाभित्र बढी चिया उत्पादन हुने भएकाले सो वडाले पूर्वप्रधानमन्त्री खनालसमक्ष चियाको समस्या किसानमार्फत राख्ने कार्यक्रम तय भएको थियो । वडावासीको तर्फबाट मोती दाहालले किसान र उद्योगी समस्यामा परेको बताउनुभयो । उहाँले तत्काल चियाको समस्या समाधान नभए किसान र उद्योगी पलायन हुनुपर्ने स्थिति आउने बताउनुभयो ।कार्यक्रममा वडाको तर्फबाट चियाका साथै विद्यमान विभिन्न समस्या समाधान गर्न, विकास निर्माणलाई समेटेर छ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । वडाध्यक्ष गायत्रीराम बस्नेतले खनाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गर्नुभयो ।खनालले सम्बन्धित पक्षसँग आफूले पहल गर्ने आश्वासन दिनुभएको छ । वडा कार्यालयअन्तर्गतको ज्येष्ठ नागरिक समन्वय समितिको तर्फबाट खनाललाई सम्मानसमेत गरिएको थियो । 


प्रतिक्रिया