संसदमा विपक्षीको अवरोध
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपासहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
त्यसअघि नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले गणपुरक संख्या नपुर्याउन प्रतिक्षीका सांसदहरूले बैठक छोडेर गएको आरोप लगाएपछि संसदमा विवाद सृजना भएको थियो । सांसद केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरू संसद छोडेर बाहिर गएको आरोप लगाएका थिए । उनले आरोप लगाउन नखोजेको भन्दै आफ्नै आँखाले देखेको बताए ।
त्यसलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । सत्तापक्ष र प्रतिपक्षी सांसदहरू प्रतिवादमा उत्रिएपछि संसदमा विवाद बढेको हो। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए । सांसद गिरीले आफूहरूका कारण कुन विधेयक पास गर्नबाट रोकियो भन्दै प्रश्न गरेका थिए । त्यस्तै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर अगाडी नै तय भएकाले कांग्रेसले त्यसलाई बेवास्ता गरेको बताए।
त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसदको क्यालेण्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गरे । त्यसपछि संसदमा विवाद सुरु भएको थियो ।
