`

दार्चुलामा फरार थुनुवालाई पक्राउ गर्न खोज्दा लडेर प्रहरी जवानको मृत्यु

Nepal One HD २८ फागुन २०८० १६:०८
प्रमुख खबर

सुदूरपश्चिम । जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनुवा कक्षमा रहेका एक थुनुवालाई पक्राउ गर्न गएका एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिबाट हाम फालेर महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भागेका थिए ।

उनी दार्चुलास्थित महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए । त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ । तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भीरबाट खसेका थिए । भीरबाट खसेर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो ।

उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ। मुद्दा शाखामा ल्याएर सोधपुछ गर्ने क्रममा थुनुवा कुँवर भागेका र समात्न जाने बेला घटना घटेको जिप्रका दार्चुलाका निमित्त प्रमुख इन्सपेक्टए ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । कुँवर हत्कडीसहित भारततिर भागेका थिए । उनलाई समात्न जाने क्रममा चौधरी जिप्रका परिसरको पछाडिबाट करीब ३० मिटर तल खसेका थिए ।

हिरासतमा रहेका कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार पनि भएका थिए । आफ्नै श्रीमतीलाई ज्यान मार्ने उद्देश्यले लखेटिरहेको खबर आएपछि स्थानीय प्रहरी उनलाई समात्न गएकोमा उल्टै प्रहरीलाई कुँवरले आक्रमण गरेका थिए । त्यसपछि उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो। कुँवरमाथि अपहरण, बन्धक, ज्यान मार्ने उद्योग, करणी लगायतका मुद्दा छन्।


प्रतिक्रिया