कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक : मुख्यमन्त्री शर्मा
कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को समापन कार्यक्रममा मुख्यमन्त्री शर्माले औद्योगिक क्षेत्रको विकासबिना कर्णालीमा आर्थिक समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले तेस्रो कर्णाली एक्स्पोले यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । “कर्णालीमा विकासका लागि सहकार्य आवश्यक छ,” मुख्यमन्त्री शर्माले भन्नुभयो । “हामी सबै सरोकारवालाको सहकार्यमा मात्र कर्णाली माथि उठ्छ । यसका लागि सबैमा सामूहिक भावना र सकारात्मक सोच आवश्यक छ ।
” ठूला खालका प्रदर्शनी गर्न सक्ने गरी कर्णाली सरकारले संरचना तयार गर्ने कार्यलाई पनि अगाडि बढाउने उहाँको भनाइ थियो । यही फागुन १५ गतेदेखि सञ्चालन भएको सो एक्स्पोमा ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ ।
