राजकुमारी केटलाई क्यान्सर


बीबीसी । वेल्सकी राजकुमारी क्याथरिनले आफूले क्यान्सरको उपचार गराइरहेको सार्वजनिक गरेकी छन् । पेटको एउटा शल्यक्रिया गर्ने क्रममा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।
फेब्रुअरीको अन्त्यबाट क्याथरिनले क्यान्सर बढ्न नदिन अवलम्बन गरिने किमोथेरापी उपचार सुरु गरेकी छन् । राजकुमारीको शल्यक्रिया गत जनवरीमा भएको थियो । दरबारले त्यसको ठ्याक्कै समय सार्वजनिक नगरे पनि शल्यक्रियाको योजनाबारे बताएको थियो र उक्त शल्यक्रिया ‘क्यान्सर सम्बन्धी नभएको’ जनाएको थियो ।
उनको भिडियो सन्देशका अनुसार शल्यक्रियापछि गरिएका परीक्षणहरूबाट उनलाई क्यान्सर भइसकेको पत्ता लागेको थियो । केन्सिङ्टन प्यालेसले उनलाई भएको क्यान्सरको प्रकृतिबारे खुलाएको छैन ।
क्याथरिनले चिकित्सकहरूको टोलीले आफूलाई ‘प्रिभेन्टिभ किमोथेरापी’ भनिने क्यान्सर थप पैलन नदिने उपचार गराउन आफूलाई सुझाव दिएको बताएकी छन्। उनका अनुसार उनी उपचारको प्रारम्भिक चरणमा छिन् ।
किमोथेरापी भनेको क्यान्सरका कोशिकाहरू मारेर गरिने उपचार विधिको नाम हो। यो तरल औषधि वा चक्कीको रूपमा पनि दिन सकिन्छ । यस्तो उपचारमा परामर्शदाताको काम गर्दै आएका प्राध्यापक एन्ड्रू बेग्सका अनुसार शल्यक्रियापछि दिइने प्रिभेन्टिभ किमोथेरापी भविष्यमा क्यान्सर बल्झिने जोखिम रोक्नका लागि दिइन्छ ।