मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
कर्णाली। कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीकोट पुग्नुभएको छ ।
सडकको अवस्थाबारे सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुग्नुभएको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री लम्सालले शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
ती सडकको निरीक्षण सकेलगत्तै उहाँ नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताउनुभयो ।
स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिड्नुभएको मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली आउनुभएको बताइएको छ ।
कर्णालीका छ र सुदूरपश्चिमको बाजुरा जिल्लाको सडक पूर्वाधारलाई सुरक्षित बनाउन नयाँ आर्थिक वर्षको पहिलो दिनमै मन्त्री आफैँ राजमार्ग र सडक सञ्जालको अवस्था बुझ्न स्थलगत रुपमै निस्किनुले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ ।
