संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तिम चरणमा छः कानुनमन्त्री गिरी
पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् ।
महाशिला गाउँपालिकामा सोमबार आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले विधेयक छिट्टै टुङ्गो लगाइने बताए । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए ।
मन्त्री गिरीले भने, “विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ ।”
खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उनले बताए । अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उनले बताए ।
विधेयक पास भैसकेपछि कतैवाट बिरोधका स्वरहरु ननिस्किुन भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताए ।
सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने बताए ।
