`

रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

Nepal One HD १३ चैत २०८० १३:२४
राजनीति

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार अध्यागमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न निर्देशन दिएका हुन् । उनले विदेशीका लागि अध्यायमन देशको मुहार रहेको उल्लेख गर्दै मुहार नराम्रो भए देशप्रति धारणा सकारात्मक नबन्ने बताए ।

उनले भने, ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस् ।सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुस्।’

उनले कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको भन्दै खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

गृहमन्त्रीले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको बताए । उनले विगतमा भएका घटनामा आफूले कसैलाई दोष नदिने बताउँदै अब त्यस्ता गल्ती दोहोरिन नहुने उल्लेख गरे।


प्रतिक्रिया