भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि सरकारले छाड्दैनः वरिष्ठ उपाध्यक्ष पोखरेल
उदयपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन् ।
उदयपुरको गाईघाटमा मंगलबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताएका हुन् । देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उनको भनाइ थियो ।
एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।
भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उनले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गरे । कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । एमाले उदयपुरको आजदेखि सुरु हुने नवौं जिल्ला अधिवेशनमा सहभागी हुन उनी यहाँ आएका हुन् ।
