सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको अडान यथावत
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठक निष्कर्षविहीन भएको छ ।
सोमबार सभामुखले यसै विषयमा छलफल गर्न कांग्रेस, एमाले, माओवादी र रास्वपाका शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा कांग्रेसले संसदीय समिति गठनको अडान र सत्तापक्षले कांग्रेसको माग अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै भोलि संसद् अवरोध भए त्यसको जिम्मेवार सत्तापक्ष हुने बताए । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भोलि बस्ने प्रतिनिधि सभाको बैठक सहज बनाउन प्रमुख प्रतिपक्षलाई आग्रह गरेपनि त्यसमा कांग्रेस सकारात्मक बन्न नसकेको बताए ।
उनले आफहरुले कांग्रेसलाई आफ्नो मागम पुनर्विचार गर्न आग्रह गरे । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले छलफलमा कुनै सहमति नभएको बताए । त्यस्तै रास्वपाका सन्तोष परियारले सदन चल्ने भन्दै गृहमन्त्रीले पेस गर्ने राजनीतिक विधेयक पेस हुने बताए ।
