पूर्व-पश्चिम राजमार्ग विस्तार : रुख काट्ने काम अन्तिम चरणमा
काठमाडौँ / पूर्व पश्चिम राजमार्गलाई एशियाली सडकका रुपमा विस्तार गर्न २ लेन बाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
झापाको काकडभिट्टाबाट लौकही सम्मको सडक विस्तारका लागि राइट अफ वे अन्तर्गत परेका रुखहरु काटिएको हो । सडक विभाग, वन कार्यालयका कर्मचारी, ठेकेदार प्रतिनिधिहरुको रोहबरमा रुख काटेर दाउरा र गोलिया छुट्याई घाटगद्दी गर्ने गरिएको कानेपोखरी सब डिभिजन वन कार्यालयका वन रक्षक लाल बहादुर मगरले जानकारी दिए ।
उहाँनले चिसाङ पुल देखि डाँसखोला सम्मको करिब ५ हजार ५३ वटा रुखहरु विगत २ महिना देखि काट्न थालिएको र केही दिनमा रुख काट्ने काम सम्पन्न हुने बताए ।
वन क्षेत्रमा राइट अफ वे २५ मिटर बाट साढे १७ मिटर कायम गरिएपछि काट्नुपर्ने रुखहरुको संख्या घटेको छ । विभिन्न सामुदायिक वन र राष्ट्रिय वन अन्तर्गत रहेका रुखहरु सामुदायिक वनको कि स्थानीय पालिकाको स्वामित्वमा रहने विवाद रहेकोमा अहिले रुखहरु काटेर वन कार्यालयमा घाट गद्दी गर्ने कार्य भईरहेको हो । मोरङमा करिब २६ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि साइट क्लियर गर्ने कार्य भईरहेको छ ।
