नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्दैनः नेता पौडेल
काठमाडौँ / नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखेका छन् । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज यहाँ आयोजित युवा संवादमा उहाँले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरेका छन् ।
नेता पौडेलले भने, “जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन ।” नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक सुनिता बरालले हाम्रा जीवनशैली, व्यवहार र कामकारवाहीका आधारमा लोकतन्त्रिक अभ्यास मापन हुने बताए । उनदे भने, “सेवाप्रवाहमा नागरिकले लोकतन्त्रको अनुभूति नपाउँदा राजनीतिक नेतृत्वप्रति विभिन्न कोणबाट टिकाटिप्पणी भएको हो ।” देशभित्रका सम्भावनालाई बिर्सिएर विदेश पलायनलाई प्रतिष्ठानको विषय बनाउन नहुने धाराणा राख्दै नेत्री बरालले सरकार र राजनीतिक नेतृत्वले पनि प्रतिबद्धता जनाएका विषय कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको बताए ।
उनले उच्च शिक्षा, दक्षता अभिवृद्धि र आर्थिक आयआर्जनका लागि विदेश गएपनि समाज र देशको प्रगति र उन्नतिका लागि स्वदेशमै पसिना बगाउनु पर्ने सुझाव दिए ।
प्राध्यापक डा. पिताम्बर भण्डारीले लोकतान्त्रिक प्रणाली उच्चतम शासन व्यवस्था भएकाले प्रणालीमा नीति र नेतृत्व नैतिकताको कसीमा रहन आवश्यता रहेको बताए। उनले भने , “नेपालमा लोकतन्त्रलाई सुदृढ तुल्याउने हो भने दलभित्रको सक्रमण अन्त्य हुनुपर्छ ।”
समाजका अगुवाकारुपमा रहेका दलका नेता तथा कार्यकर्ता लोकतान्त्रिक मूल्य मान्यताको परिधिभित्र राख्न पर्नेमा जोड दिँदै राजनीतिमा विकृति रहेसम्म लोकतन्त्रका लागि सधैँ चूनौती खडा हुने विचार प्रकट गरे ।
