देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग
दमौली (तनहुँ), २३ वैशाख : तनहुँको देवघाटलाई देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ । देवघाटका जनप्रतिनिधि, स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग गरेका हुन् ।
देवघाटधाम विश्वका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यस ठाउँलाई धार्मिक तीर्थस्थलको घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवघाट गाउँ कमिटीका अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाटधामको विकासका लागि आवश्यक बजेट व्यवस्थापनका लागि केन्द्र सरकारलाई पहल गरिदिन मुख्यमन्त्रीलाई भेटेर आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस स्थानमा रहेका पुराना मठमन्दिर, मणिमुकुन्देश्वर चक्रवर्ती मन्दिर, सिन्च्याङगढी, प्याउलीगढी, घण्टाचुली, भर्जन कालिका माई मन्दिरको संरक्षण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि बजेट व्यवस्थापनका लागि सङ्घीय सरकारसँग पहलका लागि आग्रह गरेका छौँ ।”
उक्त टोलीले देवघाटका विभिन्न विकासका आयोजनाका लागि आगामी बजेटमा स्रोत सुनिश्चित गरिदिन आग्रह गरेको छ । न्यौपानेका अनुसार गाइघाट जोड्ने त्रिशूली नदीमाथि पक्की पुल निर्माण, देवघाटको साराङघाटमा सेतीनदीमाथि पक्की पुल, देवघाटको प्रवेशद्वारमा रहेको झोलुङ्गे पुल आसपास पक्की पुल निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।
