`

सरकारलाई दिएको समर्थनमा अब समीक्षा गर्छौंः खेलकुदमन्त्री श्रेष्ठ

Nepal One HD १ असार २०८१ १२:३०
प्रमुख खबर

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् । 

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा शनिबार आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिएका हुन् । 

गत मङ्सिरमा जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका छन् ।

  “जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन”, उनले भने,“ पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।”

मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उनको भनाइ थियो ।
     
“शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ”, मन्त्री श्रेष्ठले भने, “हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।”
    
त्यस अवसरमा उनले  शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए ।


प्रतिक्रिया