नागरिक बचाउ अभियानबाट ‘ब्याक’ हुन्नः दुर्गा प्रसाईं
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो नागरिक बचाउ महाअभियान कदापी बन्द नहुने बताएका छन् ।
शनिबार राति सामाजिक संजालमार्फत प्रसाईंले केही षड्यन्त्रकारी तत्वले दुर्गा प्रसाईंले अभियान बन्द गरेको भन्दै कुप्रचार गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले षड्यन्त्रकारीले दुर्गाले अभियान छोड्यो भनेर दलाल, तस्करको भाषा बोलेर अभियानलाई कमजोर बनाउने चलखेलमा लागेको समेत बताएका छन् । उनले भनेका छन्, ‘सम्पूर्ण नेपाली बुबा–आमा,दाजु–भाइ र दिदी बहिनीमा नमस्कार । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका कार्यक्रमहरु निरन्तर अगाडि बढिरहेको छ। क्रान्तिमा थकाइ भन्ने शब्दावली हुँदैन । क्रान्तिको अन्त्य अन्यायको अन्त्य पछाडि न्यायको जितले मात्र हुनसक्छ । बेरोजगारले रोजगार प्राप्त गरे पछि हुन्छ। गरीबको झुपडी लिलाम गरेर सुकुम्बासी बनाउने वित्तिय संस्था,बैंक र सहकारीको निर्मम ज्यादती बिरुद्ध निर्णायक आन्दोलन र त्यसबाट प्राप्त मुक्तिबाट मात्र हुन्छ। अहिले कति षडयन्त्रकारीले दुर्गाले अभियान छोड्यो भनेर दलाल,तस्करको भाषा बोलेर अभियानलाई कमजोर बनाउने चलखेलमा लागेका छन्। ति देशद्रोही गरिब जनता माराको अभिब्यक्ति र कदमबाट न दुर्गा ब्याक हुन्छ न दुर्गाको नेतृत्वको नागरिक बचाउ महाअभियान बन्द हुन्छ।’
उनले क्रान्ति आजको परिस्थिति र समयको माग भएकाले यसलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
उनले भनेका छन्, ‘क्रान्ति आजको परिस्थिति र समयको माग हो जसलाई कसैले रोक्न छेक्न सक्दैन। दुर्गा प्रसाईले मेडिकल कलेजको सम्बन्धन पायो अब अभियान सुक्यो भन्नेले बुझ्नु पर्छ दुर्गा आफू बन्न होइन जनता र देश समृद्ध बनाउन हिँडेको सिपाही हो । जसलाई न हावा–हुरीले रोक्न सक्छ न आँधी–बेहेरिले नै,जनताको मुक्ति र गरिबीको अन्त्य नै अन्तिम लक्ष्य हो जुन हासिल गरेरै छाड्छौं। सुकेको ओठमा खुसीको मुस्कान,बृद्ध बाबुआमा घरमा साथमा सन्तान,घर–घरमा रोजगार टोल–टोलमा उद्योग र गरिब कोही छैन धनी कोही होइन। यो विचारधारालाई ब्यबहारमा परिणत गरेरै छाड्छौं । अविचलित, अनब्रत र निसंकोच छौं। रहिरहन्छौं।’
