`

गाजा पोलियो खोप अभियान ‘ठूलो सफलता’– डब्लुएचओ

Nepal One HD २८ भदौ २०८१ १९:१३
विश्व

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार युद्धग्रस्त गाजामा विशाल पोलियो खोप अभियानको पहिलो चरणको सफलताको प्रशंसा गर्नुभएको छ । अभियानमा पाँच लाख ६० हजारभन्दा बढी बालबालिकालाई पहिलो खुराक दिइएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “गाजा पट्टीभर जीवनको दुःखद् दैनिक वास्तविकतामा यो ठूलो सफलता हो ।”

गाजा भग्नावशेषका रूपमा परिणत भएको र यहाँका २४ लाख बासिन्दामध्ये अधिकांश इजरायली सैन्य आक्रमणका कारण आफ्ना घरबाट भाग्न बाध्य भएका कारण त्यहाँ रोग फैलिएको छ । पच्चिस वर्षमा पोलियोको पहिलो मामिला पुष्टि भएपछि लडाइँमा स्थानीयकृत ‘मानवीय रुकावट’ को सहायताबाट १० वर्षभन्दा कम उमेरका कम्तीमा ९० प्रतिशत बालबालिकालाई लक्षित गर्दै सेप्टेम्बर १ मा ठूलो मात्रामा पोलियो खोप प्रयास सुरु भयो ।

सबैभन्दा पहिला मध्य गाजा, त्यसपछि दक्षिण र अन्त्यमा उत्तरका सबैभन्दा कठिन क्षेत्रमा बालबालिकालाई खोप लगाउने अभियानको पहिलो चरण बिहीबार समाप्त भएको छ ।

एघार महिनाभन्दा धेरै समयदेखि घेरिएको गाजामा आवश्यक दोस्रो खुराक प्रदान गर्न नयाँ अभियान करिब चार सातामा सुरु हुनेछ ।

टेड्रोसले भन्नुभयो, “हामी यो जटिल अपरेसनलाई सफल बनाउने सबै स्वास्थ्य टोलीको प्रशंसा गर्दछौँ ।” साथै उहाँले आफ्ना बालबालिकालाई पोलियो खोप लगाउन ठूलो सङ्ख्यामा आउने परिवारहरूप्रति आभार व्यक्त गर्नुभयो ।

प्राय ढल र दूषित पानीबाट फैलिने पोलियोभाइरस अत्यधिक सङ्क्रामक हुन्छ । यो विकृति र पक्षघातको कारण बन्न सक्छ र सम्भावित रूपमा घातक हुनक्छ । यसले मुख्य रूपमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई असर गर्दछ ।


प्रतिक्रिया