`

अमेरिकी राष्ट्रपति बाइडेनको मेक्सिकोकी राष्ट्रपति शिनबामलाई बधाई

Nepal One HD २० असोज २०८१ ७:४५
विश्व

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्लाउडिया शिनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपति भएकोमा फोन गरी बधाई दिनुभएको ह्वाइट हाउसले शनिबार जनाएको छ ।फोनवार्तामा दुवै नेताले उाीहरूको देशको ‘प्रगाढ सम्बन्ध’ को चर्चा गर्नुका साथै दुवै देशको समृद्धि र सुरक्षालाई अगाडि बढाउने बलियो र सहयोगात्मक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धतामा जोड दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेनले गत जुनमा शानदार जित हासिल गर्नुभएकी मेक्सिकोकी शिनबामलाई यसै साताको सुरुमा भएको राष्ट्रपतिपदको सपथग्रहण समारोहमा आफ्नी पत्नी जिल बाइडेनलाई न्यानो स्वागत गरेकोमा आभार प्रकट गर्नुभएको थियो ।
मेक्सिको सिटीका पूर्व मेयरसमेत रहनुभएकी मेक्सिकोकी राष्ट्रपति शिनबामले मङ्गलबार पद तथा गोपनीयताको सपथ लिनुभएको थियो भने जिललाई उक्त समारोहमा अमेरिकी प्रथम महिलाका रूपमा आमन्त्रण गरिएको थियो ।

बाइडेन दम्पतीले नोभेम्बरमा हुने चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक उम्मेदवारका रुपमा समर्थन गरेका छन् ।यदि उहाँ विजयी हुनुभयो भने उहाँ अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ ।

अमेरिकी निर्वाचनमा मेक्सिकोसँगको अमेरिकी सीमाबाट आउने आप्रवासीको आगमन मुख्य मुद्दा बनेको छ ।विश्वको सबैभन्दा बढी स्पेनी भाषी देश मेक्सिकोमा १२ करोड ९० लाख मानिस बसोबास गर्छन् र स्वतन्त्र भएदेखि अहिलेसम्म ६५ जना पुरुष राष्ट्रपति भइसकेका छन् ।


प्रतिक्रिया