`

‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’ : कार्यवाहक प्रधानमन्त्री सिंह

Nepal One HD १८ मंसिर २०८१ २०:५८
राजनीति

चन्द्रपर (रौतहट), १८ मङ्सिर : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र फेरि लयमा फर्किदै गरेको बताउनुभएको छ । रौतहटको गढीमाई नपा–४ सुन्दपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को आज उद्घाटन गर्नुहुँदै कार्यवाहक तथा सहरी विकासमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उँचाइमा पुग्ने र देशको अर्थतन्त्र मजबुत र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विदेशी मित्रराष्ट्रहरूसँग अनुदान लिएर भए पनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले देश विकासको गतिमा अगाडि बढाउन, गरिबी र बेरोजगारी अन्त्य गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।

मेला उद्घाटन कार्यक्रममा रौतहट क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णाप्रसाद यादव, मधेस प्रदेशका अर्थमन्त्री जीतेन्द्रकुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव, माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादव, गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनीप्रसाद जयसवाललगायतका व्यक्तिको सहभागिता रहेको गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया