`

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा भाषणको अडियो झिकाउन सर्वोच्चको आदेश

Nepal One HD २३ पुष २०८१ १४:३०
प्रमुख खबर

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा अडियो र भिडियोलगायत सामाग्री झिकाउने आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले घिमिरेको अडियो र भिडियो झिकाउन आदेश दिएको हो ।

उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैँअघि दर्ता भएको थियो ।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफैं वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो । सर्वोच्चको उक्त आदेश पछि उनले बारका तर्फबाट लिखित जवाफ पेस गरेका थिए ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिस्ट्रार घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए ।

बार अध्यक्ष घिमिरले उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित न्याय परिषद्ले सर्वोच्चमा २ न्यायाधीश मात्र सिफारिस गरेकोमा विरोध गर्दै भाषण गरेका थिए ।


प्रतिक्रिया