`

क्यानले गर्‍यो सन्दीपमाथि कारबाही

Nepal One HD ८ माघ २०८१ १४:४७
खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि कारबाही गरेको छ । जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाटै अम्पायरको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले सन्दीपमाथि कारबाही गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको जानकारी दिएका छन् ।

उनका अनुसार क्यानको आचारसंहिताको २.७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगेको हो । सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।

यो बीचमा सन्दीपले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै सन्यास लिने आशयको अभिव्यक्ति सामाजिक संजालमार्फत व्यक्त गरेका थिए ।


प्रतिक्रिया