`

यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैनः उपाध्यक्ष श्रेष्ठ

Nepal One HD १२ माघ २०८१ १७:००
प्रमुख खबर

ललितपुर । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् ।

पार्टीको भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले भने, “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो ।”

उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट गरे ।

“विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ”, श्रेष्ठले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, ललितपुर जिल्ला अध्यक्ष शिव कट्टेललगायत नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया