पानमा कनालमा चिनियाँ प्रभाव कम गर्न तत्काल कदम चाल्न अमेरिकी विदेशमन्त्रीको चेतावनी


बीबीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पानामाले तत्कालै पानमा कनालको व्यवस्थापन गर्ने आफ्नो शैली नबदले वाशिङ्टनले कदम चाल्ने बताएका छन् । उनले सो मुलुकले उक्त नहरमाथि ’चीनको प्रभाव र नियन्त्रण कम’ गर्नुपर्ने बताए।
विदेशमन्त्री भएपछिको आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले राष्ट्रपति होसे राउल मुलिनोसँग भेटेका थिए र पानमा कनालको पनि भ्रमण गरेका थिए । उनले एउटा सन्धिका आधारमा जलमार्गको नियन्त्रण अमेरिकाले पानमालाई दिएको उल्लेख गर्दै अहिलेको चिनियाँ उपस्थितिले त्यसको उल्लङ्घन गरेको पनि धारणा राखेका थिए ।
हङ्कङमा आधारित कम्पनीहरूले उक्त नहरको दुवैतर्फको बन्दरगाह पानमालाई हस्तान्तरण गरिनुअघिबाटै सञ्चालन गर्दै आएका छन् । राष्ट्रपति मुलिनोले आफूले रुबिओको प्रतिक्रियालाई धम्कीका रूपमा नलिएको भन्दै उक्त नहर एउटा स्वायत्त कम्पनीले व्यवस्थापन गरिरहेको बताए । उनले अमेरिकी चासोहरू सम्बोधन गर्न प्राविधिक स्तरको छलफलको प्रस्ताव गरेका छन् ।
अमेरिकाका वरिष्ठ कूटनीतिज्ञले पानमाले कदम चाल्नुपर्ने वा अमेरिकाले दुई देशबीचको सन्धि अनुसार आफ्नो अधिकार रक्षाका लागि आवश्यक निर्णयहरू लिने बताएका थिए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मुलुकले पुनः पानमा कनाल नियन्त्रणमा लिने बताउँदै आएका छन्। पानमाका अनुदारवादी राष्ट्रपति होसे राउल मुलिनोसँग पानमा सिटीमा आइतबार रुबिओले भेटेका थिए।