युक्रेनमा रूसी आक्रमण : कसले के भन्छ


पछिल्ला केही दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच नाटकीय वादविवाद तथा युरोपेली नेताहरूले किएभका लागि आफ्नो समर्थन व्यक्त गरेको देखिएको छ । युक्रेनमा रुसी आक्रमणलाई कसरी अन्त्य गर्ने भन्ने कुरामा विभिन्न पक्षहरू यहाँ उभिएका छन् :
– युक्रेन –
मस्कोले फेरि आक्रमण गर्ने निर्णय गरेमा युक्रेनले युरोप र संयुक्त राज्य अमेरिका दुवैको सहयोगीबाट कडा आश्वासनबिना हतियार बिसाउन नसक्ने जोड दिएको छ । “मुख्य कुरा के हो भने – शान्ति वास्तविक हुनका लागि वास्तविक सुरक्षा ग्यारेन्टीहरू आवश्यक छन्”, जेलेन्स्कीले रातारात सम्बोधनमा भन्नुभयो । “युद्धविराम पर्याप्त छैन”, उहाँले आइतबार मित्रराष्ट्रहरूसँगको वार्तापछि बेलायतमा पत्रकारहरूलाई भन्नुभयो ।
युक्रेनले महत्त्वपूर्ण खनिजहरूको निष्कासनसम्बन्धी सम्झौतामा अमेरिकी ग्यारेन्टीहरूको मार्ग प्रशस्त गर्ने आशा गरेको थियो जुन ट्रम्पसँगको झगडापछि विफल भयो ।
“किएभ अझै पनि सम्झौतामा हस्ताक्षर गर्न तयार छ”, जेलेन्स्कीले भन्नुभयो ।
सुरक्षा ग्यारेन्टीको आकारबारे बहस भइरहेको छ तर जेलेन्स्कीले युक्रेनमा विदेशी शान्ति सैनिकहरूका साथै समुद्री र हवाई रक्षा सहयोगका लागि जोड दिनुभएको छ ।
मस्कोको सेनाले कब्जा गरेको युक्रेनी भूभागमाथि रुसको दाबीलाई युक्रेनले कहिल्यै मान्यता नदिने युक्रेनी नेताले आइतबार दोहोर्याउनुभएको छ ।
– संयुक्त राज्य अमेरिका –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम चाहेको तर यसको सम्मान गर्न सुरक्षा ग्यारेन्टी दिन अस्वीकार गरेको र युक्रेनलाई नाटो सदस्यताको सम्भावनालाई अस्वीकार गरेको बताउनुभएको छ ।
तर ट्रम्पले युक्रेनलाई अनुदान स्वरूप दिइएका सहायता फिर्ता गर्न दबाब दिइरहनुभएको छ ।
उहाँ जेलेन्स्कीसँग झगडा नभएसम्म अमेरिकालाई युक्रेनी खनिज स्रोतहरूको विशाल मात्रामा प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न पनि तयार देखिनुभएको थियो ।
चिच्याहटपूर्ण प्रतिस्पर्धापछि वासिङ्टनका उच्च अधिकारीहरूले शान्ति सम्झौता हासिल गर्नु छ भने जेलेन्स्कीले पद छोड्नुपर्ने हुनसक्ने सुझाव दिएका छन् ।
– युरोप –
युरोपेली नेताहरू आइतबार लन्डन शिखर सम्मेलनमा किएभको समर्थनमा एकजुट भए । त्यहाँ उनीहरूले सुरक्षामा अधिक खर्च गर्ने र युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न गठबन्धन गठन गर्ने प्रतिबद्धता जनाए ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफू र बेलायतका नेता किर स्टार्मरले युक्रेनमा ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराममा काम गरिरहेको बताउनुभएको छ ।
स्टार्मर र म्याक्रोनले कुनै पनि युद्धविराम कायम राख्न मद्दत गर्न अन्य देशहरूसँग युक्रेनमा बेलायती र फ्रान्सेली सेना तैनाथ गर्न तयार रहेको बताउनुभएको छ ।
धेरै नेताहरूले युरोपलाई पुनः सशस्त्र गर्न वकालत गरेका छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले महादेशलाई तत्कालै ‘सबैभन्दा खराबका लागि तयारी गर्नुपर्ने’ चेतावनी दिनुभयो ।
– रुस –
रुसले युक्रेनलाई चार युक्रेनी क्षेत्रहरू डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिज्जिया छोड्न माग गरिरहेको छ । ती क्षेत्रलाई उसले पूर्ण रूपमा नियन्त्रण नगरेको भए पनि अधिग्रहण गरेको दाबी गर्दछ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले ती क्षेत्रहरूको स्थितिका साथै सन् २०१४ मा अधिग्रहण गरेको क्रिमिया ‘गैर–वार्ता योग्य’ छ भन्नुभएको छ ।
मस्कोले किएभ सरकारलाई अवैध मान्छ र युक्रेनले भविष्यमा कुनै पनि नाटो सदस्यता त्याग्नुपर्ने माग गर्दछ । युक्रेनको नाटो प्रवेशलाई रुसले अस्तित्वको खतराको रूपमा बुझ्दछ ।
रुसले युक्रेनमा युरोपेली शान्ति सेना पठाउने सम्भावनाको विरोध गरेको पनि बताएको छ ।
ट्रम्प प्रशासनद्वारा सुरु गरिएको नाटकीय सम्बन्ध सुधारपछि क्रेमलिनले एकैसाथ रुसविरुद्ध अमेरिकी प्रतिबन्धहरू हटाउनेसहित वासिङ्टनसँग आफ्नो सम्बन्धको सामान्यीकरणको वकालत गरिरहेको छ ।
– अब के ? –
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले बेलायत, फ्रान्स र अन्यले युक्रेनसँग मिलेर लडाइँ रोक्ने योजनामा काम गर्ने र त्यसपछि वासिङ्टनमा राख्ने बताउनुभयो । विशिष्ट विवरणहरू सम्भवतः आगामी दिनहरूमा आउनेछन् र मार्च ६ का लागि आह्वान गरिएको युक्रेनलाई समर्पित एक विशेष युरोपेली शिखर सम्मेलनमा छलफलहरू हुनेछन् ।
यसैबीच मस्को र वासिङ्टनले सम्बन्ध सुधार्न जारी राखेका छन् ।ट्रम्पले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेपछि आक्रमण सुरु भएयता दुई देशबीचको पहिलो उच्चस्तरीय बैठक साउदी अरेबियामा आयोजना गरिएको थियो । अमेरिकी र रुसी अधिकारीहरूबीच थप वार्ताहरू इस्तानबुलमा आयोजना गरिए तथा ट्रम्प र पुटिनबीच शिखर सम्मेलनका लागि तयारीहरू चलिरहेका छन् ।