`

‘नीति तथा कार्यक्रमले समयको माग र चाहनालाई सम्बोधन गर्न सकेन’: सांसद गौतम

Nepal One HD २२ वैशाख २०८२ १९:५५
राजनीति

काठमाडौँ, २२ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोभिता गौतमले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बिनाइञ्जिनियरिङ मित्रीले’ घर बनाएको जस्तो भएको भनी टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले क्रसर उद्योगका कारण सिर्जना भएको क्षति नियन्त्रण एवं प्राकृतिक स्रोतको सदुपयोग गर्ने विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताउनुभयो । साथै, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको प्रगति विवरण पेस गर्न गौतमले माग गर्नुभयो ।

सांसद सूर्यमान दोङले जनताका खास विषय र समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित नभएको बताउनुभयो । ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने नारा समावेश गर्न, रोजगार सिर्जना गर्ने र आर्थिक सुधारको विषयलाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

सांसद छिरिङ डम्डुल लामा भोटेले पूर्ववर्ती सरकारको नीति तथा कार्यक्रमका सकारात्मक विषय नसमेटिएकामा गुनासो गर्नुभयो । उहाँले देशभित्रै रासायनिक मल कारखाना स्थापनाको विषय समेट्न, कर्णाली प्रदेशमा हवाई एम्बुलेन्स सञ्चालन गर्न, कर्णाली करिडोर निर्माणलाई गति दिने विषय समेटिनुपर्नेमा जोड दिनुभयो ।

सांसद मनिष झाले नीति तथा कार्यक्रममा सत्तापक्षको चासो नभएको भन्दै बहसमा राज्यको अनावश्यक खर्च मात्रै भएको गुनासो गर्नुभयो । अर्थतन्त्र सुधारका लागि गठित आयोगले दिएको सुझावसमेत नीति तथा कार्यक्रममा नसमेटिएको र चालु आवका धेरै विषय मिल्न गएको उहाँको भनाइ थियो ।

सांसद विनिता कठायतले नीति तथा कार्यक्रमलाई परम्परावादी र कर्मकाण्डी रहेको टिप्पणी गर्दै अनावश्यक संरचना खारेज गर्नेतर्फ ध्यान नदिइएको बताउनुभयो । कर्णालीको जडीबुटी र फलफूल विकास र खस सभ्यताबारे सरकारले ध्यान नदिइएकामा विरोध जनाउनुभयो । सांसद निशा डाँगीले नीति तथा कार्यक्रम सन्तोषजनक नभएको, समयको माग र चाहनालाई सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो । दक्ष युवालाई रोजगारीको प्रबन्ध, सहरी प्रदूषण नियन्त्रणमा प्रभावकारी व्यवस्थापन र विद्युतीय सवारीसाधनको सघन प्रयोगमा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

सांसद चन्दा कार्की भण्डारीले सत्तारुढ दलभित्रै नीति तथा कार्यक्रममाथि मतैक्य नभएको पाइएको, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका बारेमा कुनै सम्बोधन नगरेको टिप्पणी गर्नुभयो । देशभित्र रोजगारी सिर्जना, उद्योग व्यवसाय विस्तार, कृषि क्षेत्रको उत्पादकत्व बढाउनेतर्फ सरकारले विशेष चासो राख्नुपर्ने उहाँको भनाइ छ ।

सांसद शिशिर खनालले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको समस्या समाधानका लागि कुनै कार्यक्रम प्रस्ताव नगरिएको गुनासो गर्दै एकीकृत शीतभण्डार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा आरोग्य पर्यटन, चलचित्रलगायत पर्यटनलाई ध्यान दिनुपर्ने, पदमार्गलाई थप व्यवस्थित बनाउनुपर्ने उहाँको जोड छ । भूराजनीतिमा देखिएको हलचललाई नीति तथा कार्यक्रमले नछोएको, गैरआवासीय नेपाली नागरिकका विषय समावेश नभएको सांसद खनालको भनाइ छ ।


प्रतिक्रिया