भारत-पाकिस्तानबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको भन्दै साउदको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको समयप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद साउदले भारत र पाकिस्ताबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको बताएका हुन् ।
उनले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, ‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको सिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेका बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु ।’
उनले भ्रमण पूर्वनिर्धारित नै भएपनि कुटनीतिक कौशलता देखाएर पछि सार्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।
उनले भने, ‘छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ । भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवदेशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’