यस्तो छ देशको पछिल्लो आर्थिक अवस्था


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गरेको हो । बैंककाअनुसार चैत महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । वृद्धिदर भने अघिल्लो वर्षको भन्दा कम हो ।
गत वर्ष रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले र अमेरिकी डलरमा ७३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।









