पार्टीको सक्रिय नेता तथा कार्यकर्ता नभई योग्य र सक्षम व्यक्तिलाई गभर्नर नियुक्ति गर्न सांसद ढकालको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले योग्य र सक्षम व्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न माग गरेका छन् । उनले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको भन्दै डा. विश्व पौडेललाई गभर्नर नियुक्त नगर्न माग गरेका हुन् । पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । ढकालले सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने व्यक्तिमा नअल्झिन सुझाव दिएका छन् । पौडेल २०७९ को निर्वाचनमा ढकालसँग पराजित भएका थिए ।
ढकालले भनेका छन्, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ । डा. श्विनाथ पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । नेपाल सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने व्यक्तिमा नअल्झिन मेरो सुझाव छ। साथै ग्रे लिस्टबाट गुज्रिरहेको हाम्रो देश नेपाललाई बाहिर निकाल्न र समग्र अर्थतन्त्रलाई लयमा ल्याउन पार्टीको सक्रिय कार्यकर्ता तथा नेता हैन कि योग्य र सक्षम व्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न समेत जोडदार माग गर्दछु।’
पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए । तर उनले गभर्नर बन्नका लागि आइतबार सदस्यबाट राजीनामा दिएका छन् । गभर्नर कांग्रेसको कोटामा परेको छ । यसअघि कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टराई गभर्नरमा अघि सारेको थियो । तर कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले पौडेललाई अघि सार्ने तयारी गरेको छ ।
गभर्नर पद खाली हुनु एक महिनाअघि नै छनौट गर्नूपर्नेमा खाली भएको एक महिना भन्दाबढी समय भइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन । जसका कारण दुई तिहाईको सरकारको आलोचना भइरहेको छ ।
