`

न्यायपालिकाले कानुनको प्रक्रिया मिच्न थालेको जनगुनासो बढ्योः सांसद गौतम

Nepal One HD ४ जेठ २०८२ १३:१६
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाले कानुनको प्रक्रिया मिच्न थालेको जनगुनासो बढेको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले न्यायपालिकाको कामकारबाहीप्रति प्रश्न उठ्नु गम्भीर विषय भएको बताइन् ।

सांसद गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले थुनामा रखेका व्यक्तिलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको बताइन् । सूचना दिएर मात्रै पेसी राख्ने प्रक्रिया अदालतले मिच्न थालेको उनले बताइन् ।

पार्टी सभापति रवि लामिछाने सम्बन्धित मुद्दामा थाहै नदिई पोखराको उच्च अदालतले एकफर्ती सुनुवाई गरेको सन्दर्भ उल्लेख गर्दै उनले भनिन्, उनले भनिन्, ‘व्यक्तिको बारेमा फरक फरक धारणा हुन सक्छन्, तर विधि मिचिएको विषय सबैको साझा सरोकार हुनुपर्छ । मुद्दाको एउटा पक्षले विपक्षीको जिकिर सुन्न नपाउने कस्तो खाले सुनुवाइ हो ? विपक्षीलाई जानकारी दिएर पेशी तोक्नुपर्नेमा त्यसो किन गरिएन ? यसरी न्यायपालिकाबाटै गैरकानूनी तरबारबाट व्यक्तिको हत्या भयो भने के अवस्था आउला ?’

रास्वपा सभापति लामिछानेलाई जानकारी नदिइ उच्च अदालतले पेसी राखेको विषय बाहिर आएको थियो ।


प्रतिक्रिया