प्राधिकरण नाफामा रहेको कुरामा सत्यता छैनः उर्जामन्त्री खड्का

NepalOne
७ जेठ २०८२ १३:४५
अर्थ समाचार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको भन्दै यबारे अब चाँडै अडिट हुने बताएका छन् ।

बुधबार संसदको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको जिकिर गरे ।

उनले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले द्विविधा उत्पन्न भएकाले नै अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको दाबी गरे ।

मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको बताए । उनले अब कुनै पनि बहानामा लोडसेडिङ नहुने बताए ।

उनले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेकोसमेत बताए । उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, । अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने ?’

मन्त्री खड्काले बेलाबेला बिजुली विच्छेद हुने समस्या पहिले पनि रहेको बताए । उनले विगतका वर्षमा ७०० घण्टासम्म यसरी विभिन्नपटक बिजुली गएको बताए ।

उनले भने, ‘पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ । कहीँ मर्मत गरेको बेलामा विच्छेद हुनेबाहेक लोडसेडिङको अवस्था यो वर्ष छैन ।’


प्रतिक्रिया