कोलम्बियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


बोगोटा । पश्चिमी कोलम्बियामा विद्यार्थी र प्राध्यापकहरू सवार एक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १० जनाको मृत्यु र ११ जना घाइते भएको विश्वविद्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार टोलिमादेखि क्विन्डियोसम्म २६ जना यात्रु बोकेको बस चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।
शनिबार क्विन्डियो क्षेत्रको हेलिकोइल ब्रिजको छेउमा रहेको अवरोधमा ठोक्किँदा धेरै मानिस बसबाट खसेको प्रहरी कमान्डर लुइस फर्नान्डो अतुएस्टाले बताए ।
“धेरै यात्रुहरू बाहिर निस्केर खाडलमा खसे”, उनले भने, “यस दुर्भाग्यपूर्ण दुर्घटनाका परिस्थितिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”
कोलम्बियाको अर्मेनिया सहरमा रहेको हम्बोल्ट विश्वविद्यालयले एक वक्तव्यमा दुर्घटनामा ‘हाम्रा धेरै सहकर्मी, विद्यार्थी, प्राध्यापक र प्रशासकहरूको पीडादायी क्षति’ पछि दुई दिनको शोक घोषणा गरेको बताएको छ ।
विश्वविद्यालयका निर्देशक डिएगो फर्नान्डो जारामिल्लो लोपेजले एक भिडियोमा बसमा ‘२२ विद्यार्थी, दुई शिक्षक र एक सञ्चार अधिकारी’ सवार रहेको जानकारी दिए ।
राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सन् २०२४ मा दैनिक औसत २२ ट्राफिक मृत्यु भएको कोलम्बियामा सडक दुर्घटनाहरू मृत्युका मुख्य कारणहरूमध्ये एक हुन् ।