बागमती प्रदेशसभाबाट दुई विधेयक पारित

NepalOne १९ जेठ २०८२ २१:३६
राजनीति

मकवानपुर, १९ जेठः बागमती प्रदेशसभाको आज बैठकले दुई वटा विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सो विधेयकहरुलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गदाई सभाले सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

विधेयक पारित हुनुअघि मन्त्री तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसैगरी उहाँले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्तावसमेत प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया