ट्रम्पलाई महाभियोग लगाउन मस्कको आह्वान


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्बपति इलन मस्कबीचको सम्बन्धमा दरार आएको छ । अहिले उनीहरू एकअर्का विरुद्ध खनिएका छन् । सम्बन्धमा दरार आएसँगै सङ्घीय अमेरिकी सरकारका कामहरूबाट मस्कको कम्पनीलाई हटाइदिने ट्रम्पले धम्की दिएका छन् । ती काम मस्कको स्पेसएक्स कार्यक्रमका निम्ति आधारस्तम्भ हुन् ।
‘हाम्रो बजेटमा अर्बौँ पैसा जोगाउने सबभन्दा सरल उपाय भनेको इलोनले पाइरहेको सरकारी ठेक्का तथा अनुदान रद्द गरिदिनु हुने छ,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धम्कीपूर्ण भाषामा लेखेका छन्।
यदि ट्रम्पले सरकारी संयन्त्रलाई मस्कका विरुद्ध परिचालन गरे भने यी अर्बपति प्रविधि कम्पनीका मालिकलाई अवश्य पीडा हुनेछ। बिहीवार उनको कम्पनी टेस्लाको शेयर मूल्य १४ प्रतिशतले घट्यो । तर पीडा एकतर्फीमात्र चाहिँ हुने छैन ।
ट्रम्पको धम्कीपश्चात् मस्कले उनलाई महाभियोग लगाउन आह्वान गरे अनि हिम्मत भए आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाइदिन भनेका छन् । साथै उनको कम्पनीको ड्रयागन स्पेसक्राफ्टलाई फिर्ता गर्ने कार्य तेज बनाउने पनि चेतावनी दिए ।
अमेरिकी अन्तरिक्षयात्रुहरूलाई ओसारपसार गर्न र इन्टरनेशनल स्पेस स्टेशनमा आपूर्ति गर्न अमेरिका सो स्पेसक्राफ्टमा निर्भर छ । मस्कसँग ट्रम्पलाई जवाफ दिन असीमित स्रोत छन्। उनले आगामी वर्ष हुने संसदीय तथा प्राइमरी चुनावहरूमा ट्रम्पविरोधी उम्मेदवारहरूलाई आर्थिक सहयोग दिन सक्छन् ।
उनले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवंगत यौन अपराधी जेफ्रे एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाएका छन् । ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले मस्कले लगाएको आरोपको हलुका प्रतिवाद गरिन् ।
ट्रम्पले अघि सारेको अनि ‘विशाल र सुन्दर’ संज्ञा दिएको विधेयकले सरकारी बजेट घाटा चर्कने भन्दै मस्कले त्यसलाई घिनलाग्दो भनेर केही दिन अगाडि टिप्पणी गरेपछि दुईबीचको विमति उजागर भएको थियो ।
करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी (डोज) हाँकेका मस्कले अर्बौ डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए र गत सातामात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए ।
ट्रम्पको सम्पूर्ण प्रशासनका विरुद्ध मस्कले जित्न त नसक्लान् तर उनको कदमका कारण ट्रम्प र रिपब्लिकन पार्टीले चर्को राजनीतिक – अनि व्यक्तिगत-मूल्य चुकाउनु पर्ने हुन सक्छ।