कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

NepalOne २४ जेठ २०८२ १२:३९
खेलकुद

इलाम । बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले शनिबारदेखि कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ ।

जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा फूलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

सदरमुकाममा आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे । सङ्घका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिने बताए ।

“पुरस्कारमा मात्र एक लाख १९ हजार खर्च हुनेछ”, उनले भने । आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः १० हजार, रु सात हजार, रु छ हजार र रु पाँच हजार पाउनेछन् । छैटौँदेखि १० स्थानसम्मलाई जनही रु चार हजारले पुरस्कृत गरिनेछ । भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही रु चार हजार पाउनेछन् ।

विद्यालयस्तरीयमा प्रथमले रु तीन हजार र दोस्रोले रु दुई हजार, हिल च्याम्पियन प्रथमले रु चार हजार दोस्रोले रु तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन रु दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन् ।

इलाम प्रथमले रु चार हजार तथा दोस्रोदेखि पाँचौँ स्थानसम्मकाले रु दुई हजारका दरले पुरस्कार पाउनेछन् । स्वीस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । यो प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङ्मीले दिवङ्गत आमा फूलमतीको सम्झनामा एक लाख नगद सहयोग गरेकी छन् ।


प्रतिक्रिया