युवालाई स्वस्थ बनाउन खेलसँग जोड्नुपर्छ : मन्त्री पौडेल

Nepal One HD १ असार २०८२ २०:५७
जीवनशैली/स्वास्थ्य

काठमाडौँ १ असार ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले युवालाई स्वस्थ्य बनाउन खेलकुद क्षेत्रसँग जोड्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ले आजदेखि आयोजना गरेको ‘काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२’ को आज साँझ उद्घाटन गर्दै उहाँले सुखी बन्नका लागि नियमित खेलकुद र शारीरिक अभ्यास आवश्यक रहेको बताउनुभएको हो ।

“शारीरिक व्यायम नियमित ग¥यो भने मानिस सुखी र खुसी भएर बाँच्न सक्छ, खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउँछ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले वडा, पालिका र देश÷देशबीचलाई खेलकुद क्षेत्रले जोडेको बताउनुभयो ।

मन्त्री पौडेलले सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नसके मानिसलाई स्वस्थ्य बनाउन सकिने उल्लेख गर्नुभयो । राष्ट्रिय पहिचानका लागि खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्यमन्त्री पौडेलले कुनै पनि संस्थाले दिने सामाजिक उत्तरदायित्वको रकम खेलकुद क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले खेलकुद क्षेत्रबाट प्रतिस्पर्धा मात्र नभएर आत्मियतासमेत बढ्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले केन्द्रीकृत मात्र होइन विकेन्द्रीकरण गर्नुपर्छ भनेर वडा कार्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

वडालाई सक्षम बनाउने गरी महानगरपालिकाले नीति, बजेट र कार्यक्रम बनाउँदै आएको उहाँको भनाइ थियो । उपप्रमुख डङ्गोलले स्वस्थ्य, अनुशासित र टिमवर्कमा काम गर्न खेलकुद क्षेत्रले सिकाउने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो । “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएको कारणपनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो”, उहाँले भन्नुभयो । वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाध्यक्ष तिवारीको भनाइ थियो ।

काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुद प्रतियोगिता–२०८२ का संयोजक प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागीता रहेको बताउनुभयो । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उहाँको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, उपविजेता टिमलाई रु ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु १० हजारका दरले प्रदान गरिने वडाले जनाएको छ ।

यसैगरी, तेक्वान्दो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।
यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु ३० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ र टिम विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, २५ हजार र २० हजार प्रदान गरिने बताइएको छ । करातेको आइकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र शान्तनालाई क्रमशः १० हजार, आठ हजार, छ हजार र पाँच हजार प्रदान गरिनेछ ।


प्रतिक्रिया