रवि लामिछानेको प्रश्नः दण्डस्वरुप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धका आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन् ।
भैरहवा कारागारबाट अपील जारी गर्दै लामिछानेले राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाअनुसार आफूमाथि आरोप लगाइएको बताएका हुन् । उनले आफूलाई जनताबाट पाएको समर्थन र साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको बताएका छन् ।
लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन् । उनले भनेका छन्, ‘म फेरि जनताको बीचमा आई जिम्मेवारी वहन गर्न तयार छु । यो सस्तो राजनीति हो। जनतालाई झुक्याउने खेल हो। तर म टुक्रिन तयार छु, झुक्न सक्दिनँ ।’
उनले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । उनले भनेका छन्, ‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र। घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’
सहकारीको बचत रकम ठगी अभियोगमा पूर्वपक्षका लागि उनी भैरहवा कारागारमा छन् ।